पिपरा गाउँपालिकामा सर्वदलीय संयुक्त समितिद्वारा मसाल जुलुस प्रदर्शन

जनकपुरधाम, २ माघ । महोत्तरीको पिपरा गाउँपालिकामा सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।
पिपरा गाउँपालिकामा भएको भ्रष्टाचार, अनियमितता, अपारदर्शिता विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो ।
गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिले मसाल जुलुस मार्फत आन्दोलनको शुरुवात गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता विनित पाण्डेयले बताए ।

गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप छ ।
उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नगर्नु, कूशासनलाई बढावा दिनुलगायतका गतिविधिहरु गरेर स्थानीय जनताका लागि अभिसापको रुपमा स्थापित भईरहेको आरोप समेत लगाए ।

गाउँपालिका अध्यक्ष चौधरी भ्रष्टाचारमा आफै संलग्न हुनुका साथै सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि संलग्न गराएर निकम्मा, गैरजिम्मेवार, गैरजवाफदेही, असक्षम एवं भ्रष्ट अध्यक्षको रुपमा स्थापित भएकोले त्यसको विरुद्धमा खवरदारी गर्न आन्दोलनको शुरुवात गरिएको पाण्डेयले बताए ।
सोमबारदेखि गाउँपालिका कार्यालयको मूलगेटमा धर्नामा समेत बस्ने उनले जानकारी दिएका छन् ।

आइतबारको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, युवा, विद्यार्थी तथा नगरवासीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


