महिला हक्की प्रतियोगितामा सहभागिताका लागि जनता माविबाट ५ छात्रा छनोट

जनकपुरधाम, २ माघ । वीरगञ्जमा हुने चौथो राष्ट्रिय साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सहभागिताका लागि धनुषाको जनता माध्यमिक विद्यालयले ५ जना छात्रालाई छनोट गरेको छ ।
माघ ४ गतेदेखि हुने प्रतियोगिताका लागि धनुषाको मिथिला नगरपालिका–२ स्थित जनता माविले कक्षा ८ र ९ मा अध्ययनरत्त ५ जना छात्रालाई छनोट गरेको हो ।
छात्रा खेलाडीहरुमा भूमिका कुमारी महतो, निरा कुमारी महतो, श्रुति कुमारी राय, अंजली महतो र वैकल्पिकमा मधु कुमारी साह रहेकी छन् ।
राष्ट्रिय स्तरको सो प्रतियोगितामा एउटै विद्यालयबाट देशमै पहिलो पटक ५ जना छात्रा छनोटमा परेको विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी दिए ।
विगतमा सामुदायिक विद्यालयलाई शैक्षिक र खेलकुदका विषयमा कमजोर मानिएपनि पछिल्लो समय जनता मावि अब्बल बन्दै गएको छ ।
विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवका अनुसार छात्र र छात्राहरुको हक्की टिम गठन गरेर प्रशिक्षक राखेर अभ्यास गराउने गरिएको छ ।
राष्ट्रिय स्तरको हक्की प्रतियोगितामा यस विद्यालयबाट ५ छात्रा छनोटमा पर्नु मिथिला नगरपालिका र जिल्लाकै लागि गौरवको कुरा भएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


