जनकपुरधामलाई स्थायी राजधानी बनाउन व्यापारीहरूको माग

जनकपुरधाम, २ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु पर्ने माग गर्दै यहाँका व्यवसायीहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।
स्थायी राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकाले राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ कदम चाल्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने उनले बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले ज्ञापन बुझाएको बताए । उनले सबै राजनीतिक दलको संसदीय दलका नेतासमेतलाई ज्ञापन बुझाइने बताए ।
आइतबारको प्रदेश सभा बैठकमा नाम र स्थायी राजधानीबारे विशेष समितिले प्रतिवेदन पेश गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


