वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन

पर्सा, २ माघ । प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै स्थानीय युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिंदै प्रदर्शन गरेका छन् ।
वीरगञ्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगञ्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन, वीरगञ्जवासी जिन्दावाद लगायतका नारा समेत लगाएका थिए ।
प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ । प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगञ्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ ।
मुख्यमन्त्री राउत वीरगञ्जकै भएपनि राजधानी जनकपुरधामलाई बनाउन लागि परेको भन्दै त्यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनको अगुवाइ गरेका लोसपा पर्साका उपाध्यक्ष सुजित गिरीले वीरगञ्जलाइ राजधानी नबनाइए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
मुख्यमन्त्री राउतले मुख्यमन्त्रीको पद जोगाउन वीरगञ्जलाई धोका दिएर जनकपुरधामलाई स्थायी राजधानी बनाउन लागि परेको प्रदर्शनमा सहभागी लोसपाका युवा नेता महादेव कुर्मीले बताए ।
उनले भने,‘लालबाबु राउतलाइ आफ्नो जन्मभूमी र कर्मभूमी वीरगञ्ज भन्दा मुख्यमन्त्रीको पद नै प्यारो भएको छ, मुख्यमन्त्रीले वीरगञ्जसँग गद्धारी गरिरहेका छन् ।’

