जनकपुरधाम, १ माघ । कोरोना महामारीकाबिच माघे संक्रान्तिको अवसरमा शनिबार जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना गरेका छन् ।

संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाहरुले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरेका हुन् ।

अंगराज सरको डिलमा विगत ८ वर्षदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसवर्ष पनि कोरोना महामारी पुनः अकालो लाग्ने क्रममा रहेकोले आफूहरुले स्वास्थ्य मापदण्डको पालना गरी भोजको आयोजना गरेको युवा अभियन्ता सुशील कर्णले बताए । उनले भाईचारा र संस्कृतिलाई जोगाउनका लागि यो भोजको आयोजन हुँदै आएको जिकिर गरे ।

खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरुले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिएको कर्णले जानकारी दिए ।

खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता हुनुपर्ने स्थानीय आलोक कर्णले जोड दिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले हाम्रा सामजिक चाडपर्वहरु संस्कृति जर्गेनाको अटुट माध्यम रहेकोले यसप्रकारका क्रियाकलापतर्फ युवाहरुको ध्यानाकर्षण हुनु सराहनीय रहेको बताए ।

त्यस्तै, नेपाली काँग्रेसका नगर उपसभापति राकेश विक्रम साहले कोरोना महामारीका बिच यस्ता कार्यक्रमहरु स्वास्थ्य मापदण्डको पालना गरेर आयोजना गरिएको र जनकपुरधामतर्फ अहिले कोरोनाको कुनै खासै त्रास नरहेकोले युवाहरुले संस्कृति, चाडपर्वतर्फ समेत ध्यान पुर्याउनु तारिफयोग्य रहेको बताए ।

भोजमा सहभागीहरुलाई खिचडी, पापड, अचार, दही, तीललगायतको परिकार खुवाइएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयबासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।