सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मालाई विद्यार्थीद्वारा कालोमोसो

काठमाडौं, ३० पुस । विद्यार्थीहरुले सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेका छन् ।
शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय वार्ता सकेर बाहिर निस्केन क्रममा कलेजका विद्यार्थीले उनलाई कालोमोसो दलेका हुन् ।
कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैठकबाट बाहिरिने क्रममा विद्यार्थीले शर्मालाई नमस्कार गरेका थिए । शर्माले नमस्कार फर्काउन नपाउँदै विद्यार्थीले उनलाई कालोमोसो दलेका हुन् ।
शिक्षामन्त्री देवेन्द्र पौडेलसमेतको उपस्थितिमा बसेको बैठकमा उनले बढी शुल्क लिन पाउनुपर्ने माग राखेका थिए । उनले छलफलबाट भएको निर्णयमा समेत नोट अफ डिसेन्ट लेखेका थिए । नोट अफ डिसेन्ट लेखेर बाहिरिएका शर्मालाई विद्यार्थीले कालोमोसो दलेका हुन् ।
आज भएको सर्वपक्षीय छलफलमा एमबीबीएस कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने शीर्षकगत शुल्क निर्धारण गर्ने निर्णय गरेको छ । त्यसका लागि चिकित्का शिक्षा आयोगले तत्काल कार्यरम्भ गर्ने गरी निर्णय गरेको हो ।
त्यस्तै, चिकित्सा शिक्षा ऐन कार्यान्वयमा देखिएका असहजता निरुपणका लागि विज्ञ, सम्बन्धित निकाय र सरोकारवाला पक्षसँग छलफल तथा परामर्श गरी संशोधनका सम्बन्धमा आयोगले सरकारलाई राय पराशर्म उपलब्ध गराउने समेत निर्णय आजको बैठकले गरेको थियो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
मेडिकल कलेजहरूले तोकिएको भन्दा बढी शुल्क लिइरहेको भन्दै विद्यार्थीहरू एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा छन् । कलेज सञ्चालक भने सुविधाअनुसार रकम उठाउनुपर्ने माग गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


