जनकपुरधाम, ३० पुस । प्रदेश २ सरकारले ६१० जना गरिब तथा विपन्न परिवारको घर बनाइदिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेसँगै प्रदेशका गरिब तथा विपन्न परिवारले घर पाउने भएका छन् ।

महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत भएपछि प्रदेशका सबै जिल्लाको प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा १० परिवारको घर निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

असहाय र विपन्न एकल महिला, कुनै पनि जात अथवा वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिने मन्त्री साहले बताए ।

यस आवास योजनाअन्तर्गत ५ लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने उनले बताए ।