काठमाडौं, २९ पुस । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत र सजग रहन आग्रह गरेको छ ।

बुधबार राजदूतावासले एक अपिल जारी गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सुरक्षित रहन आग्रह गरेको हो ।

‘हाल भारतको राजधानी नयाँ दिल्लीलगायत विभिन्न राज्यहरूमा ओमिक्रोन भेरियन्ट संक्रमण तीव्र वृद्धिभई तेस्रो लहरको रुप लिइसकेको सन्दर्भमा भारतमा विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा बस्नुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आवश्यक स्वास्थ्य सजगता अपनाउन एवं यहाँको केन्द्र तथा सम्बन्धित राज्य सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सुरक्षित रहन नेपाली राजदूतावास हार्दिक अपिल गर्दछ,’ अपिलमा भनिएको छ ।

राजदूतावासले विषम परिस्थितिमा विचलित नहुन, घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, हात नियमित सफा राख्न तथा स्यानिटाइजर प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भिडभाडबाट टाढा रहन, तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैमा अनुरोध गरेको छ ।

यस्तो असहज समयमा पनि राजदूतावास खुल्ला रहने तथा कन्सुलरलगायतका सेवा निरन्तर प्रदान गरिने राजदूतावासले जनाएको छ ।

कुनै विषयमा सूचना तथा जानकारी, परामर्श, सल्लाह–सुझाव, समन्वय तथा सहयोगको लागि कार्यालय समयअघि–पछि तथा सार्वजनिक बिदाको दिन समेत राजदूतावासमा टेलिफोन, वा इमेल गर्न सकिने नेपाली राजदूतावासले जनाएको छ ।