काठमाडौं, २८ पुस । स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको १६ महिने छोरा साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।

उनले भने,‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए ।’

घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते भएको र उनको अवस्था मध्यम रहेको डीएसपी अधिकारीले बताए ।

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन ।

अधिकारीले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकोले स्पष्ट हुन केही समय लाग्न सक्ने जानकारी दिए ।