जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २८ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
सुनचाँदी रत्न तथा आभूषण महासंघसँग सम्बन्धित सरकारी निकायका उच्च पदस्थ अधिकारीहरूसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अफ्ठ्यारो भएको बताएपछि गृहमन्त्री खाणले परिमार्जन गर्न निर्देशन दिएका हुन् ।
खाँणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौललाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन पनि कार्यक्रममै निर्देशन दिए ।
उनले भने, ‘कार्यविधिसँग सरोकार हुने अर्थ, उद्योग र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर कार्यविधि परिमार्जन गर्ने समन्वयकारी भूमिका मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले गर्नुहुन्छ । मैले यही कार्यक्रममा उहाँलाई निर्देशन दिन्छु ।’
मन्त्री खाँणले समय र परिस्थितिअनुसार विभिन्न समयमा बनेका कानुन परिमार्जन गर्दै समयसापेक्ष बनाउनु पर्ने बताए । उनले सरकारको पहिलो दायित्व विधिअनुसार चल्नु भएको बताउँदै सुनचाँदी रत्न तथा आभूषण व्यवसायीले उठाएका माग सम्बोधन गर्न आफूले सहजीकरण गर्नेसमेत बताए ।
सुनचाँदी व्यवसायीले उठाएका विषय कानुन अनुरुप समाधानका लागि पहल गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


