समाचार संकलनको क्रममा पत्रकार ठाकुरमाथि प्रहरीको दुर्व्यवहार

जनकपुरधाम, २८ पुस । जनकपुरधाममा रेल्वेका पूराना कर्मचारीहरु आन्दोलन गरिरहेको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
समाचार संकलनका लागि बुधबार दिउँसो जनकपुरधामस्थित मतस्य विकास तालिम केन्द्र पुगेका कान्तिपूर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुरमाथि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादवले हातपात गरेका छन् ।
नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई नवनियूक्त महाप्रबन्धक निरञ्जन झाले बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालेपछि पूरानाहरु आन्दोलित भएका छन् । सोही बिषयमा समाचार संकलन गर्न पुगेका पत्रकार ठाकुरमाथि प्रहरीले हातपात गरेको हो ।

रेल्वेका पूराना कर्मचारीहरुले महाप्रवन्धक झा र प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दा अवस्था थोरै असहज भएको थियो । सोही क्रममा सञ्चारकर्मीहरु समाचार प्रयोजनका लागि महाप्रबन्धक झाको प्रतिक्रिया लिन मूलढोकाबाट भित्र प्रवेश गर्न खोज्दा पत्रकार ठाकुरमाथि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादव जाइलागेका थिए ।
‘भित्र किन प्रवेश गरेको ?’ भन्दै प्रहरीले हातपात गरेपछि आफूलाई चोटपटक लागेको पत्रकार ठाकुरको भनाइ छ ।

घटनापछि नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा घटनास्थल पुगेका पत्रकारहरूले बिहीबार बिहानसम्म दोषी प्रहरीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले बताए ।
प्रहरीले पत्रकार ठाकुरमाथि हातपात गरेको भिडियो समेत सुरक्षित छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


