जनकपुरधाम, २८ पुस । नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले विभागीय मन्त्रीले नै पैसा उठाएर नयाँ कर्मचारी राखेको आरोप लगाएका छन् ।

भट्टराईले प्रत्येक व्यक्तिसँग २ देखि ३ लाखसम्म रुपैयाँ असूल गरि रेल्वेमा जागरि दिएर तालिम गराउन लागिएको आरोप लगाएका हुन् ।

आफ्नो पालामा कर्मचारी नियूक्त गरेर उनीहरुलाई तालिम दिइ रेल्वे सञ्चालनका लागि पूर्णरुपमा तयार रहेको अवस्थामा आफूसँग स्पष्टिकरण माग्दा राजीनामा दिनुपरेको बताउँदै उनले आफूसँगै पूराना कर्मचारीहरुलाई समेत विजोग बनाएको गुनासो पोखेका छन् ।

उनले भने,‘कर्मचारीको तालिम गत असारमै सम्पन्न गरेर रेल सञ्चालनका निम्ति प्रधानमन्त्रीलाई उद्घाटनको मिति तय गर्न समेत आह्वान गरिसकेका थियौं । त्यो बिचमै मसँग स्पष्टिकरण मागियो । मैले राजीनामा दिएँ । सबैको विजोग भयो ।’

उनले पूराना कर्मचारीको एक महिने तालिममा १ करोड १५ लाख रुपैयाँ खर्च भएकोले अहिले फेरि त्यहि शीर्षकमा पूरानोलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम दिनु आर्थिक चलखेल बाहेक अन्य केही हुन नसक्ने दावी समेत गरेका छन् ।

पूर्वमहाप्रबन्धक भट्टराईले आफूले आफ्नो पालामा रेलमै काम गरेकाहरुमध्ये पूराना ६५ जनालाई घरघरबाट खोजेर ल्याएको दावी गर्दै पहिला रेलमा काम गर्ने जनशक्तिहरुलाई खोजी खोजी ल्याएर काममा फर्काएको बताए ।

अहिले पूराना कर्मचारीको तलब नै नदिई महाप्रबन्धक निरञ्जन झाले उनीहरुलाई अचानक निकाल्नु उनको गैरजिम्मेवारीपन रहेको आरोप लगाएका छन् ।

ज्यालादारीमा नियूक्ति गरिएका कर्मचारीलाई गैरकानूनी ठहर गर्दै अहिले नयाँलाई कोठाबाट नै नियूक्त गरिएको उनको आरोप छ ।

उनले भने,‘न सूचना छ, न विज्ञापन । भित्रभित्रै सेटिङ मिलाएर नजिकका मान्छेलाई नियूक्त गरिएको छ ।’

पूर्वमहाप्रबन्धक भट्टराईले महाप्रबन्धक झाले दुलोभित्र बसेर नियूक्ति बाँडेको आरोप लगाएका छन् ।