जनकपुरधाम, २८ पुस । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पूरानाहरु आन्दोलित भएका छन् ।

पूराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियूक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरुले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।

नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाई जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरुलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रवन्धकले हटाएपछि उनीहरुले आफूहरुलाई पूनः समायोजन गर्न माग गरेका छन् ।

पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरुलाई कुनै जानकारी नै नदिई नवनियूक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका नयाँ कार्यकर्ताहरुलाई नियूक्त गरी तालिम दिन लागेको बताए । उनले गोप्यरुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरुलाई राख्नु आफूहरुका लागि असहय रहेको समेत जिकिर गरे । उनले यसअघि आफूहरुले पनि एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत बाँकी रहेको बताए ।

पूराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पूराना कर्मचारीले तालिम लिइसकेकोले आफूहरुलाई समायोजन गर्नुपर्ने माग गरेका छन् । रेल्वे सञ्चालनका लागि कर्मचारी आवश्यक भएपनि पूरानालाई नराखी नवनियूक्त महाप्रबन्धक झाले फेरि आफ्ना आसेपालाई नियूक्त गरेर तालिम दिनु दुःखद रहेको सुनाए ।

उनीले नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्ति गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरुलाई कदापी मान्य नहुने बताए ।

त्यस्तै, सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । उनले पूरानो तालिममा सरकारको ८८ लाख रुपैयाँ खर्च भएको समेत बताए ।

यस सम्बन्धमा नवनियूक्त महाप्रबन्धक निरञ्जन झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरुमार्फत नयाँ नियूक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको बताए । यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको उनले जानकारी दिए ।

महाप्रबन्धक झाले कानूनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियूक्त गरेको र नेपाल रेल्वे ऐनले दिएको अधिकार बमोजिम नै उनीहरुका लागि तालिम सञ्चालन गर्न लागिएको दावी गरेका छन् । प्रबन्धक झाले कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए ।
रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियूक्त महाप्रबन्धक झाले हटाएका थिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गरेका थिए ।

रेल्वे सञ्चालनका लागि भनी तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुले आफुखुसी दैनिक रुपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकोले सम्पूर्ण व्यक्तिहरुलाई हाजिर नगर्न सूचनामार्फत आग्रह गरिएको थियो ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।