जनकपुरधाम, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै आज नेपाल एकिकरण दिवस तथा ३००औँ जन्मजयन्ती देशभर मनाइँदै छ ।

जनकपुरधाममा पनि यसवर्ष राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो ।

पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाले रथयात्रा निकालेर नगरपरिक्रमा गरि जन्मजयन्ती मनाएको छ ।

जानकी मन्दिर परिसरबाट निकालिएको रथयात्रा राममन्दिर, शिवचोक, जनकचोक, भानुचोक, मिल्सएरिया हुँदै पुनः जानकी मन्दिरमा पुगेर कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरुले देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखेका थिए ।

यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको राप्रपा धनुषाका सचिव कमलेश मण्डलले बताए । उनले आजका दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग समेत गरे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामप्रताप साह, पूर्वकेन्द्रीय सदस्य श्रवण कुमार झा, वीरेन्द्र लाल कर्ण, नथुनी लाल दास, जिल्ला सभापति रामचन्द्र यादव, उपसभापति जितेन्द्र साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ र ६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग उठ्दै आएको छ ।