जनकपुरधाम, २६ पुस । सप्तरीमा ईटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर–६ तेरहौतास्थित बिशाल ईटा उद्योगमा काँचो ईटा पकाउनका लागी चाङ लगाउने क्रममा अचानक छेउको पर्खाल भत्किंदा रुपनी–६ की ५० वर्षीया जतरी देबी सरदारको मृत्यु भएको हो ।

दुर्घटनामा परी अग्नीसाईर कृष्णासवरण–४ का ५० वर्षीय मंगल सदा र भारतको राबेरली मधुवनका ४० वर्षीय रमेस कुमार लौउदी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

घाईतेहरुलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजविराज लगिएकोमा उपचारको क्रममा जतरी देबीको मृत्यु भएको डीएसपी काफ्लेले बताए ।

मृतकको शवलाई कानुन बमोजिम जाँच मुचुल्का लगायत पोष्टमार्टम गरिएको र घटना सम्बन्धमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।