काठमाडौं, २६ पुस । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।

आयोगले सोमबारबाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो ।

आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र सबै राज्यका निकायहरूलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए ।

उनका अनुसार निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ ।

सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थाहरूलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले अपील गरे ।

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरूलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताए ।