काठमाडौं, २६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि खुमलटारमै छन् ।

पार्टीको आठौं महाधिवेशन सकिएको दुई दिनपछि अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसहित माओवादीका दर्जन बढी नेता कोरोना संक्रमित भएपछि पार्टीका आन्तरिक कामहरू रोकिएका छन् ।

आठौं महाधिवेशन ८ दिन लगाएर सकेका प्रचण्ड त्यस बीचका दौडधुपमा रहँदा कोरोना संक्रमणको घेरामा परेका थिए । उनको निजी सचिवालयका अनुसार अहिले उनी घरमै आइसोलेसनमा छन् । घरमै आइसोलेसनमा रहेका उनले नियमित भेटघाट बन्द गरेका छन् ।

आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएको थियो । लगत्तै, पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक नेताहरूमा कोरोना संक्रमण देखिएका कारण ८ माघसम्म सारिएको छ ।

महत्वपूर्ण मानिने पार्टीको पदाधिकारी केन्द्रीय कमिटीको दोस्रो बैठकबाट चयन हुने माओवादीले बताएको थियो । तर, बैठक नै प्रभावित हुँदा पदाधिकारी चयनको विषय अन्यौल बन्दै गएको छ ।