जनकपुरधाम, २६ पुस । देशभरमा अहिलेसम्म ९ लाख १ हजार ७५५ नयाँ मतदाता थपिएका छन् ।

जसअनुसार प्रदेश १ मा १ लाख ३४ हजार २९०, प्रदेश २ मा २ लाख ३० हजार २१८, बागमती प्रदेशमा १ लाख ५४ हजार ९३ र गण्डकी प्रदेशमा ७७ हजार ५०३ नयाँ मतदाता थपिएका हुन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा २ लाख २ हजार ८७०, कर्णाली प्रदेशमा ५१ हजार ४० र सूदुरपश्चिम प्रदेशमा ५१ हजार ७४१ नयाँ मतदाता थपिएका छन् ।

प्रदेश २ को १३६ वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरबाट २ लाख ३० हजार २१८ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

अहिलेसम्म देशभरका ५ वटा जिल्लाहरुमा सबभन्दा बढि मतदाता थपिएका छन् । जसअन्र्तगत रुपन्देहीमा ५७ हजार १८, धनुषामा ४१ हजार ८०५, काठमाडौंमा ३७ हजार ३४०, सप्तरीमा ३३ हजार २९ र मोरङमा ३२ हजार ३५६ नयाँ मतदाताहरु थपिएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको अत्यधिक घुइँचो हुँदाहुँदै निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रमअनुसार स्थानीय तहको केन्द्रमा राखिएको शिविर हटाइसकिएको छ ।

सदरमुकामहरुको हकमा भने जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयबाट नियमित मतदाता नामावली संकलन भइरहेको छ ।

स्थानीय तहहरुको शिविर सम्पन्न भए पनि सदरमुकामहरुमा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली संकलनको काम भइरहेकाले छुटेकाहरुले त्यहाँ गएर नाम दर्ता गराउन सक्ने प्रदेश निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन् ।