सप्तरी, २५ पुस । प्रदेश कृषि विश्वविद्यालयलाई राजविराज नगरपालिकाले २६ बिघा जग्गा दिने निर्णय गरेको छ ।

राजविराज नगरपालिकाको वडा नम्बर–१३ मा २६ बिघा ८ कट्ठा १८ धुर जग्गा दिने नगरपालिकाले निर्णय गरेको हो ।

विश्वविद्यालयसम्बन्धी विधेयक पारित र उद्घाटनसँगै भवन निर्माणका लागि जग्गा भाडामा लिने प्रक्रिया सुरु भएको थियो ।

गत पुस २ गतेको नगर कार्यपालिकाको बैठकले ३० वर्षका लागि जग्गा भाडामा दिने निर्णय गरेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए ।

प्रदेश सरकारले सप्तरीमा विश्वविद्यालय खोल्ने निर्णय गर्दै मंसिर २१ मा डा. वैद्यनाथ महतोलाई उपकुलपति नियुक्त गरेको थियो ।

मंसिर २७ मै राजविराजमा विश्वविद्यालयको उद्घाटन समेत भईसकेको छ ।