जनकपुरधाम, २५ पुस । २०७६ पुस २५ गते हत्या गरिएका अवैध उत्खनन विरुद्धका अभियन्ता स्व.दिलिप महतोको आज दोस्रो पूण्यतिथि मनाइएको छ ।

पर्यावरण जोगाउन आफ्नो ज्यानको आहुति दिएका दिलिप महतोको स्मरण र योगदानको चर्चा गर्दै उनको स्मृति दिवस मनाइएको हो ।दिलीप घर वरिपरिका नदीमा हुने अवैध दोहनविरुद्धको अभियानमा सक्रिय थिए ।

उनको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्त चुरियामाइ वालुवा प्रशोधन उद्योगका संचालक विपीन महतोसहित ३ जना पूर्वपक्षका लागि थुनामा छन् भने तीनजना धरौटीमा रिहा भइसकेका छन् ।

३० माघ २०७६ मा धनुषा जिल्ला अदालतको आदेशमा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो हाल पूर्वपक्षका लागि थुनामा छन् । दिलीपसँगै खोलामा गएका छिमेकी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटी लिएर त्यतिबेलै साधारण तारेखमा रिहा गरिएको थियो ।

यस्तै घटना पश्चात फरार रहेका क्रसर संचालक विपीनका दाइ विनोद महतो अदालतमा हाजिर भएर रिहा भइसकेका छन् ।

हत्यामा संलग्न प्रहरी र केही जनप्रतिनिधि उम्केको परिवारजनको दावी छ । घटनापछि बिना मुचल्का शव उठाउने इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालिन इन्सपेक्टर रामकुमार यादव र मिथिला नगरपालिका–५ का वडाध्यक्ष श्याम यादव शंकाको घेरामा थिए ।

यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि छानविन गरेको छ । आयोगको छानविनले उम्केका अपराधीहरु कारबाहीको दायरमा आउने परिवारजन लगायत आम जनमानसमा विश्वास थियो ।

घटनाको दुई दिन पश्चात आयोगले प्रेस विज्ञप्ती जारी गर्दै हत्या प्रकरणको अनुसन्धान थालेको जानकारी गराएको थियो । तर, दुई वर्ष बित्दासमेत आयोगले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । अब आयोगले अनुसन्धान भएपनि प्रतिवेदन आन्तरिक राखिएको बताउँदै प्रहरीको अनुसन्घानकै भर परेको जनाएको छ ।

एक वर्ष अघि घटनाको विभिन्न कोणबाट अनुसन्धान जारी नै रहेको र पुरा भएपछि प्रतिवेदन सार्वजनिक गर्ने बक्तव्य दिएर पन्छेको आयोगको प्रदेश २ कार्यालयका प्रमुख वीरबहादुर मगरले दोस्रो वर्ष पुग्दा कुरा नै फेरिसकेका छन् ।

उनले अब प्रहरीबाट भएको अनुसन्धन र कारबाही प्रक्रियालाई निगरानी गर्ने काम भइरहेको बताए । ‘दिलिपको हत्या विषयमा हाम्रो आन्तरिक रिपोर्ट तयार भइसक्यो । तर, मुख्य कुरा के छ भने यसको सजाय दिने निकाय त प्रहरीबाट अनुसन्धान गरेर छनविन हुनुपर्छ ।

प्रहरीले मुद्दा अदालतमा पुर्याउने हो । अनि अदालतबाट दोषी देखिएमा सजाय गर्ने व्यवस्था छँदैछ,’ मगरले भने ।

त्यसो भए राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको के औचित्य रह्यो र भन्ने प्रश्नमा उनले भने, ‘फौजदारी अपराधसँग सम्बन्धित हुने हुनाले प्रहरीले निगरानी गर्ने कुरा भयो नै । हामी सरकारकै अनुसन्धान प्रक्रियालाई ‘वाच’ गर्ने काम गरिरहेका हौं ।’

२०७६ पुस २५ गते मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोलाई ट्रिपर चालकले जानीजानी किचेर मारेका थिए ।

आफ्नो साथीसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर उनको हत्या गरिएको थियो ।