काठमाडौं, २५ पुस । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेका छन् ।

पुस महिनादेखिको तलब भत्ता खान पाउने गरी उनीहरूको आइतबार सरुवा गरिएको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीको प्रहरी प्रधान कार्यालयको केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको छ ।

चर्तुवेदीको सरुवापछि कञ्चनपुरमा श्यामसिंह चौधरी खटिएका छन् । झापाको प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा तानेर विश्वमणि पोखरेललाई खटाइएको छ ।

प्रहरी उपरीक्षक चन्द्रदेव राईको बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडादेखि राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पामा जनकबहादुर शाही सरुवा भएका छन् । त्यहाँका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।