भारतीय डकुमेन्ट्री छायांकनका लागि नेपाली रेलको परिक्षण

जनकपुरधाम, २४ पुस । धनुषाको इनर्वा स्टेशनमा विगत डेढ वर्षदेखि पाल भित्र छोपिएको नेपाली रेलको भारतीय डकुमेन्ट्री बनाउने उद्देश्यले छायांकनका लागि शनिबार गुडाइएको छ ।
पाल भित्र छोपेर राखिएको नेपाली रेलको पुनः परिक्षण गरिएको बताइएपनि सो परिक्षण प्राविधिक चेकजाँच भन्दा पनि भारतको उत्तर प्रदेशमा हुन लागेको विधान सभा निर्वाचनको तयारी स्वरुप नेपालमा गरिएको सहयोग सम्बन्धी डकुमेन्ट्री छायाँकनका लागि पाल बाहिर ल्याइएको स्रोतको दावी छ ।

इनर्वादेखि खजुरी स्टेशन हुँदै कुर्थासम्म प्रत्येक हल्टमा रोकेर परिक्षणका लागि ल्याइएको भनिएको रेलको ट्रयाकदेखि स्टेशनसम्मको दृश्य छायांकन गरिएको थियो । डकुमेन्ट्री छायांकन बारे भारतीय पदाधिकारीहरुले समाचार प्रयोजन र प्रतिवेदन तयार पार्न छायांकन गरिएको बताए ।
यता, रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परिक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले दावी गरेका छन् । यसअघि भारतीय रेल्वे कम्पनी कोंकणबाट नेपाल सरकारले खरिद गरेको रेल २०७७ असोज २ गते नेपाली भूीममा ल्याइएको दिन परिक्षण गरिएको थियो ।

कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यो दिन रेलको परिक्षण गरेर धनुषाको इनर्वामा पाल भित्र छोपेर थन्काइएको थियो ।
नेपाली रेलको ट्रयाक निर्माण भएपनि रेल नगुडेपछि रेल गुड्ने÷नगुड्ने संशयका बिच तयारी स्वरुप परिक्षण गरिएको बताइएको छ ।नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
उनले भने,‘फेबु्रअरी १० तारिख भित्रै रेल गुडाउने हाम्रो तयारी छ, रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परिक्षणका लागि आज गुडाइएको हो ।’

उनले रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निक्र्यौल लाग्ने बताए । उनले दुई देशको राजनीतिज्ञहरु बिच सहमतिपश्चात रेल गुडाउने सम्बन्धमा निश्चित मितिको विषयमा निर्णय हुने जानकारी दिए । उनले दुई देशको प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकोले समय लागिरहेको स्पष्ट गरे ।
२६ जना भारतीय कर्मचारी
नेपालले खरिद गरेको आधुनिक रेल गुडाउनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति राखेको छ । यसअघि कम्पनीसँग १५१ जना जनशक्ति थियो । महाप्रबन्धक झाले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल संचालन गर्ने तयारीमा लागेको बताए ।
उनले भने ‘आफू आएलगत्तै आर्थिक भार कम पर्ने हिसाबले १५१ जनामध्ये ६० जनालाई राख्ने निर्णय गरेको थिएँ ।’

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति रह्ने जानकारी दिए । परिक्षणका लागि सोही २६ जना मध्ये १४ जना भारतीय जनशक्ति शनिबार नेपाल आईपुगेका हुन् ।
उनका अनुसार भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन् ।
भारतीय डकुमेन्ट्रीका लागि नेपाली रेल गुडाइयो
नेपाली रेलको भारतीय डकुमेन्ट्री बनाउने उद्देश्यले गुडाइएको समेत हल्ला चलेको छ ।
भारतको उत्तरप्रदेशमा विधानसभाको निर्वाचन हुन लागेको समयमा उत्तर प्रदेशका मतदाताहरुलाई प्रभावित पार्नका लागि भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि गनाउने उद्देश्यले डक्युमेन्ट्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

सो भारतीय डकुमेन्ट्री निर्माणकै लागि डेढ वर्षदेखि पाल भित्र छोपेर राखिएको नेपाली रेलको घुम्टो उघारिएको हल्ला चलेको थियो । तर महाप्रबन्धक झाले यो हल्ला निराधार रहेको दावी गरे ।
झाले भने, ‘यो नेपाली रेल हो । हामीले रेल संचालनको अन्तिम तयारीको उद्देश्यलले मात्रै अवस्था बुझ्न परिक्षणका लागि गुडाएका हौँ ।’
यद्यपि इर्नवाबाटै एक डकुमेन्ट्री निर्माण कम्पनीको क्यामराम्यान भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा सवार भई आएका थिए ।
स्थानीयको अवरोध बढी : भारतीय चालक
रेललाई इनर्वाबाट भारतीय कर्मचारीहरु बीएन राय र पिटर साहबले गुडाएर जनकपुरधामको कुर्थासम्म ल्याएका थिए । राय चालक हुन् भने पिटर लोको इन्सपेक्टर । रेलको अवस्था राम्रै रहेको र ट्रयाक पनि कन्डिसनमै रहेको चालक रायले बताए । रायले भने,‘यो अत्याधुनिक रेल हो, यसमा समस्या चाँडै आउँदैन, रेलको अवस्था एक राम्रो छ ।’
उनका अनुसार रेल गुडाउन समस्या नभएपनि सर्वसाधारणको चापले समस्या सिर्जना गरिरहेको गुनासो गरे । जसका कारण रेललाई गतिमा गुडाउन सक्ने स्थिति नरहेको उनले बताए ।

रायले भने, ‘रेललाई गतिमा गुडाउन समस्या भइरहेको छ, किनभने सर्वसाधारण ट्रयाकमा आईहाल्छन्, हर्न नदिएसम्म हट्दैनन् ।’ यो समस्या समाधान भए यसभन्दा बढी गतिमा गुडाउन नसकिने उनले बताए ।
१६०० एचपी डेमुको यस रेलको अगाडी पछाडी दूबैतर्फ इन्जिन रहेको बताइएको छ ।
रेलको अवस्था
विगत लामो समयदेखि रेल सञ्चालन हुन नसक्दा कयौं पटक ट्रयाकको क्लिप समेत चोरी भइसकेको छ ।
त्रिपालभित्र छोपिएकाले बगीहरुको केही ठाउँमा रंग समेत उख्लिन थालिएको छ भने भित्रका सिटका कपडाहरु समेत फाटन थालेका छन् ।

नेपाल सरकारद्वारा कानून निर्माण र कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेल कहिलेदेखि चल्ने भन्ने निश्चित देखिएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


