सप्तरी, २३ पुस । सप्तरीबाट लागुऔषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर–४ बस्ने २३ वर्षीय श्याम कुमार यादव र तिलाठी कोईलाडी–८ बस्ने २० वर्षीय प्रमानन्द महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीले राजगढ–६ बनैनिया बरदाही जाने भित्री सडक खण्डमा साइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका युवकद्वयलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध बरामद भएको डीएसपी काफ्लेले बताए ।

दुवैजनाको साथबाट एसपीएम प्रोक्सिभन लेखिएको ४०८ थान क्याप्सुल, नाइट्रोभेट ४ थान र डाइलेक्स डिसी चारवटा बोतल बरामद गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका दुवैजनामाथि लागुऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।