लिभिङ टुगेदरमा बस्दै आएका प्रेमी–प्रेमीका मृत फेला

काठमाडौं, २३ पुस । लिभिङ टुगेदरमा बस्दै आएका प्रेमी–प्रेमीका आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फैकामा सँगै बस्दै आएका युवक–युवती गएराति कोठामै मृत अवस्थामा फेला परेका हुन् ।
संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसुना राई मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
युसुनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको र अनिसले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पब्जी खेलबाट साथी बनेका जिमी र राई २०/२२ दिनदेखि ‘लिभिङ टुगेदर’मा बसेको पाइएको एसपी मैनालीले जानकारी दिए ।
एसपी मैनालीले युवतीको हत्यापछि युवकले आत्महत्या गरेको जस्तो देखिएको बताएका हुन् । यद्यपी शव पोस्टमार्टमका लागि पठाइएकाले त्यसपछि मात्र थप कुरा पत्ता लाग्ने उनले बताए ।
उनले भने, ‘अनुसन्धान जारी छ । तर, पब्जी खेलकै कारण एकार्कालाई हान, ठोकलगायत आवाज सुनिएको पाइएको छ । पब्जीकै कारण घटना भएको हो कि भन्ने छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


