एमालेले आज ६१ जिल्लामा अधिवेशन गर्दै

काठमाडौं, २३ पुस । नेकपा एमालेले आज ६१ जिल्लामा मात्र अधिवेशन गर्न लागेको छ ।
आज अधिवेशन नहुने जिल्लाको चाँडै मिति तोक्ने तयारी गरिएको नेता विष्णु रिजालले जानकारी दिए ।
सप्तरी, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने भएको छ ।
एमालेले १०औं महाधिवेशन एक महिनाअघि नै सम्पन्न गरे पनि जिल्ला अधिवेशन भने बाँकी नै राखेको थियो ।
जिल्ला कमिटीमा चुनिन एमालेले मापदण्ड निर्धारण गरेको छ । नयाँ मापदण्डअनुसार जिल्ला कमिटीको अध्यक्ष वा पदाधिकारी हुनका लागि कम्तिमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।
त्यस्तै, जिल्ला कमिटीको सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
एकता एकीकरणबाट समाहित भएकाहरूको हकमा भने विधानको धारा ६३ (११) अनुसार नै हुने पत्रमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


