जनकपुरधाम, २२ पुस । जनकपुरधामस्थित मिथिला टेक्निकल एकेडमी प्रालिले आफूहरुलाई डेढ महिनापश्चात अध्ययन अध्यापनबाट वञ्चित गर्न खोजेको आरोप लगाइएको छ ।

मिथिला टेक्नकल एकेडमीमा हेल्थ एसिसटेन्टको खाली कोटामा नामांकन गराएका विद्यार्थीले यस्तो आरोप लगाएका हुन् ।

मिथिला टेक्निकल एकेडमीले एचएमा विद्यार्थी भर्नाका लागि लिएको परीक्षामा १९ जना विद्यार्थीहरु नामांकन हुनेगरी उत्तीर्ण भएका थिए भने बाँकी १३ जना विद्यार्थीको नाम वैकल्पिक सूची निकालिएको थियो ।

तर, १९ जना मध्ये १५ जना विद्यार्थीले मात्रै नामांकन गराएपछि वैकल्पिक सूचीमा आफूहरुको नाम रहेकोले नामांकन गराएको विद्यार्थी रिमा रामले बताइन् ।

उनले १५ जनाले मात्रै नामांकन गराएपछि आफूहरुले वैकल्पिकमा नाम रहेकोले समयमै नामांकन गराएको दावी गरिन् ।

उनले भनिन्,‘वैकल्पिक सूचीमा नाम रहेको नामांकन गराउन चाहने इच्छुक विद्यार्थीलाई ७ दिन भित्र नामांकनका लागि निवेदन दिन सूचना प्रकाशन गरिएको थियो । त्यसैले हामीले समयमै नामांकन गरायौं । अब कलेज प्रशासन र सिटिइभिटीका पदाधिकारीहरु डेढ महिनापश्चात आफूहरुलाई त्यहाँबाट हट्न दवाव दिइरहेका छन् ।’

एकजना विद्यार्थीका अभिभावक विवेक कुमार यादवले कलेजले ४ लाख ४ हजारमा तिन वर्षको कोर्षको शूल्क निर्धारण गरेको र आफूहरुले सोहीअनुरुप प्रथम चरणमै २ लाख १ हजार ६ सय रुपैयाँ बुझाएर विद्यार्थीको नामांकन गराइसकेपछि अब डेढ महिनापश्चात उनीहरुलाई त्यहाँबाट हटाउन अभिभावकलाई दवाव आईरहेको सुनाए ।

उनले अभिभावकलाई कलेजले बराबर फोन गरेर विद्यार्थीलाई हटाउन दवाव दिइरहेको समेत बताए । उनले सिटिइभिटीले कलेजलाई र कलेजले विद्यार्थीको अभिभावकलाई दवाव दिइरहेकोले आफूहरुले अन्त्यमा उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा समेत दिएको बताए ।

अदालतले समेत पुस २८ गतेका लागि अन्तरिम आदेशको छलफलको पेशी तोकी सोको जानकारी दुबै पक्षलाई दिएर नियमानूसार गर्न आदेश दिएको छ । छलफलको अवधिसम्म निवेदक विद्यार्थीहरु रिमा राम, कृष्णा सिंह, सचिनकुमार झालगायतलाई अध्ययन अध्यापनमा कुनै अवरोध नगर्न भन्दै उच्च अदालत नियमावली २०७३ को नियम ४२ को १ को (क) बमोजिम विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।

यसअघि जनकपुरधाम–१२ बस्ने विद्यार्थी चन्दनकुमार दाससहित धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनाका अजयकुमार महतो, हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने नीरजकुमार मण्डललगायतका विद्यार्थीले मिथिला टेक्निकल एकेडमीले आर्थिक चलखेल गर्नका लागि जेहेनदार विद्यार्थीलाई नामांकनबाट वञ्चित गरेको आरोप लगाएका थिए ।

यता, मिथिला मिथिला टेक्निकल एकेडमीका सञ्चालक गणेश साहले एकेडमीले ती विद्यार्थीहरुलाई समयमै नामांकन गराउन पटक–पटक ताकेता गर्दा पनि उनीहरुले समयमा नामंकनका लागि कुनै चासो नदिँदा उनीहरुको स्थानमा अन्य विद्यार्थीको नामांकन गरिएको बताए ।