काठमाडौं, २२ पुस । सत्ता गठबन्धनले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै पदमा आफ्ना उम्मेदवारहरूलाई जिताउन संयन्त्र बनाउने निर्णय गरेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने निर्णय गरेको हो ।

गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने र राष्ट्रिय सभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा संयोजक पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भएका थिए ।

राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि माघ १२ गते निर्वाचन हुँदै छ भने यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।