सिरहामा कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु

जनकपुरधाम, २२ पुस । सिरहामा कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ बस्ने ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सोही वडाका वडाध्यक्ष राजाराम कामतीले बताए ।
यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ बस्ने ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका ५ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न जनकपुरधाम उपमहानगरपालिकासहित क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले आ–आफ्नो स्थानीय तहका विद्यालयहरुमा बिदा दिएका छन् ।
अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएका छन् ।
बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि प्रदेश २ का सबै जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ ।
चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


