सिरहा, २१ पुस । नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ ।

एसपी पाण्डेले सरुवाको विषयलाई लिएर यादवलाई गोली हानेर मार्दिन्छु भन्दै मध्यराति उनको घरमा पुगेर धम्की दिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको हो ।

पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले बताए ।

पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए ।

यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएका थिए । लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो ।