जनकपुरधाम, २० पुस । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश २ मा आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ दल जसपा नेपालले खुला समूहबाट सिरहाका मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता समेत रहेका प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

त्यस्तै, नेकपा एमालेले खुला समूहबाट पर्साका उस्मान अन्सारी र महिला समूहबाट रौतहटकी विणा साहलाई उम्मेदवार बनाएको छ । उता, नेकपा माओवादी केन्द्रले भने उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । उनले आज उम्मेदवारको टुंगो लगाएका हुन् ।

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशीकला दाहालको समयअवधि समाप्त भएपछि चूनाव हुन लागेको छ ।

प्रदेश २ मा लोसपा नेपालले भने समाचार तयार पार्दासम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।