काठमाडौं, २० पुस । महिला अधिकारकर्मी रुबी खान पुनः आमरण अनशनमा बसेकी छन् । नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि भन्दै उनले दोस्रो पटक आमरण अनसन थालेकी हुन् ।

यसअघि माइतीघर मण्डलामा धर्ना बस्दा पनि राज्यले कुनै सुनुवाइ नगरेपछि आफू बाध्य भएर पुनः दोस्रोे पटक आमरण अनशनमा बसेको उनले बताइन् ।

यसअघि गत असोजमा माइतीघरमै १२ दिन आमरण अनशन बसेकी थिइन् । १२ औं दिनमा गृह मन्त्रालयका प्रवक्ता आएर सहमति गर्दै अनसन तोडाएका थिए ।

माइतीघर मण्डलामा चिसो मौसममा धर्नामा बसेको ४० दिन पूरा हुँदा पनि सरकारले माग सुनुवाइका लागि बेवास्ता गरेको उनको आरोप छ । सरकारले बेवास्ता गरेपछि बाध्य भएर आफू आमरण अनशनमा बसेको उनको भनाइ छ ।

‘हमरे प्राण लेब सरकार’ भन्दै निर्मला र नन्कुन्नीले न्याय नपाउँदासम्म आफू आमरण अनशनबाट पछि नहट्ने रुबीको अडान छ । पहिलो अनसनमा बसेपछि ३१ असोजमा गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिले निर्मलाको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा लापरवाही देखिएको ठहर गरेको थियो ।समितिले सरकारलाई उक्त घटनामा पुनः छानबिन गर्नुपर्ने सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको थियो । तर, गृह मन्त्रालयले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् ।