जनकपुरधाम, २० पुस । नेपाल रेल्वे कम्पनीको नियुक्तपत्र दिएर ठगी गरेको आरोपमा जनकपुरबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–७ दनौली बनौली बस्ने ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

आफुलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको कर्मचारी रहेको भन्दै ठगी गरिरहेका चौधरीलाई आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरिएको छ ।

चौधरीले आफु लोक सेवाआयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको हो ।

चौधरीको तलास गर्दा ज्याकेटको भित्रपट्टीको गोजीमा लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ती पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नाउको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको हो ।

प्रहरीले चौधरीसँग सोधपुछ गर्दा लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नन्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाडिरहेको छु भनी बताउँदा उनलाई नियन्त्रण लिइएको हो ।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।