जनकपुरधाम, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चूनावका लागि प्रदेश २ मा दुई पदमा ४ दलबाट ५ जनाको उम्मेदवारी परेको छ ।

चूनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना तथा नेकपा एमालेबाट २ जनाले मनोनयन दर्ता गराएका हुन् । मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छिन् । पर्साको वीरगञ्ज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन् । यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराएका छन् ।

लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा मनोनयन दर्ता गराएकी छन् । यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन् ।

त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् । त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् ।

प्रदेश नम्बर २ मा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेकोले काँग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशीकला दाहालको समयअवधि समाप्त भएपछि चूनाव हुन लागेको हो ।स्थानीयतहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।