जनकपुरधाम, १९ पुस । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी प्रदेश २ का केही स्थानीय तहहरुले नगरक्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलबारदेखि शुक्रबारसम्म, धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय भएको बताइएको छ ।

बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि प्रदेश २ का सबै जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।

चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ ।