काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

मंगलबार हुने मनोनयन दर्ताका लागि पार्टीले उम्मेदवारको टुंगो लगाएको हो ।

पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये ५ सिट पाएको थियो ।

सो ५ जना उम्मेदवारको टुंगो लगाइएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी शाह उम्मेदवार बन्ने भएका छन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी १२ माघमा हुँदैछ । १२ गतेबाट २० जना उम्मेदवारले राष्ट्रिय सभा सदस्यको चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् ।