काठमाडौं, १७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।

शुक्रबार जम्मा २३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७ हजार ८८५ पीसीआर परीक्षणमा २२४ जना मात्र संक्रमित भेटिएका थिए । जबकी शनिबार ५ हजार ७ जनाको परीक्षणमा ३४२ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।