अध्यक्ष लिङ्देनले गरेको निर्णय अवैधानिक भएको पूर्व अध्यक्ष थापाको आरोप

काठमाडौं, १७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसहितले गरेको निर्णय अवैधानिक भएको आरोप लगाएका छन् ।
पूर्व अध्यक्ष थापाले ट्विटरमार्फत अध्यक्ष लिङ्देनको निर्णयमाथि विरोध जनाएका हुन् ।
शुक्रबार बसेको राप्रपाको पदाधिकारीको बैठकले काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो । उनीहरुमाथि पार्टीहित विपरीत लागेको आरोप छ ।
‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हितविपरीत ,’ उनले लेखेका छन्, ‘सो निर्णयप्रति खेद व्यक्त गर्दछु ।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।’

