काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार उनीहरुलाई सो पदमा मनोनीत गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनीत भएकाहरुमध्ये पौडेल १४ औँ महाधिवेशन प्रक्रियाबाट अलग भएका थिए । उनले विज्ञप्तिमार्फत अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि महाधिवेशनबाट अलग भएको जनाएका थिए ।

उनी १३ औँ महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएका नेता हुन् । त्यसपछि वरिष्ठ नेताको हैसियतमा उनी रहे ।

मनोनीतमध्येका सिंह र निधि सभापतिमा पराजित भएका थिए । पहिलो चरणको सभापति पदको निर्वाचनमा सिंह तेस्रो र निधि चौंथो भएका थिए । दोस्रो चरणमा उनीहरूले देउवालाई समर्थन गरेर सभापति जिताएका थिए ।

नेता सिंह पार्टीको पूर्वमहामन्त्री हुन् । निधि निवर्तमान उपसभापति हुन् ।

अर्का नेता गच्छदार उपसभापति पदमा धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । नेतृ कोइराला पनि उपसभापति पदमै पराजित भएकी थिइन् ।

डा. महत भने महामन्त्री पदमा विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।