महोत्तरी, १७ पुस । लागुऔषधसहित महोत्तरीबाट प्रहरीले ४ जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाहीको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

शुक्रबार राति ८ बजेको समयमा भारतको सीतामढी जिल्लाको कन्हमा शहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।