गण्डकीबाहेक सबै प्रदेशमा यसवर्ष धान उत्पादनमा कमी

काठमाडौं, १७ पुस । अन्य वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा कमी आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यसवर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले ह्रास आएको जनाएको छ ।
गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यसवर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटन मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको तुलनामा यसवर्ष ४ लाख ९० हजार ३९६ मेट्रिकटन धान उत्पादन कम भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र अघिल्लो वर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ ।
गण्डकी प्रदेशमा २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ भने अन्य ६ वटा प्रदेशहरुमा उत्पादन घटेको छ ।
सुदूरपश्चिममा गत वर्षको तुलनामा ३१.४९ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । यस्तै, लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, बागमती प्रदेशमा ०.३५ र कर्णाली प्रदेशमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ वर्ष यता यसवर्ष सबभन्दा कम धान उत्पादन भएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिकटन, २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन र २०७३/०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ भने देशकै कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा ३.३ प्रतिशत छ ।

