जनकपुरधाम, १७ पुस । अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२२ मनाउन जनकपुरधाममा भारतीय नागरिकको घुइँचो लागेको छ । उनीहरु जानकी मन्दिरमा दर्शन गर्नुका साथै बजारमा घुमफिर गर्न आएका छन् ।

कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको अन्तर्राष्ट्रिय नयाँ वर्षमा यसबर्ष भने कोरोना संक्रमण कम रहेकोले भारतीय पर्यटकहरु जनकपुरधाम आएका हुन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकहरु समेत जानकी मन्दिरमा आएका छन् ।

विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधाम आज भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीहरुले भरिभराउ देखिएको छ ।

भारतको मधुवनीबाट यहाँ आएका मनोज यादवले नयाँवर्षको शुरुवात जानकी मन्दिरमा पूजा गर्दा झन राम्रो हुने भएकोले आफूहरु स–परिवार यहाँ पूजापाठका लागि आएको बताए ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले अंग्रेजी नयाँ वर्षमा यसपटक अत्यधिक संख्यामा दर्शनार्थीहरु आएको बताए । दासले नयाँवर्षमा पहिले माछा, मासु, मदिरा सेवन गरेर मनाउने गरेपनि अहिले आएर पूजापाठ गरेर पनि नयाँवर्ष मनाउन थालिएकोप्रति खुशी व्यक्त गरेका छन् ।

उनले भने, ‘माछामासु र मदिराले हिंसा हुने सम्भावना हुन्छ । यसले संस्कारको पनि बोध गराउँदैन्, एउटा संस्कारमा आउनु ठुलो उपलब्धी हो ।’

जनकपुरधामका अधिकांश ठाउँहरु ऋाज भारतीय गाडीले भरिभराउ बनेका छन् । नगरको रंगभूमी मैदान, जानकी मन्दिर आसपासका क्षेत्र, शिवचोक, भानूचोक, रामचोक, विद्यापति चोकलगायतका स्थानहरुमा भरतीय गाडीको लाईन नै लागेको देखिएको छ ।

विहारमा मदिरा बन्द रहेकोले समेत यहाँ तिनीहरु आउने गरेको स्थानीय युवा सुशील कर्णले बताए ।