जनकपुरधाम, १६ पुस । करीब दुई दशक लामो प्रयासपछि राजर्षि जनक विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक संसदबाट पारित भएसँगै प्रदेश २ मा सो विश्वविद्यालय स्थापनाको बाटो खुलेको थियो । २०७४ असोज २६ गते संसदबाट सो विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

राजर्षि जनक विश्वविद्यालयको स्थापनासँगै जनकपुरधाममा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई आधार क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पस र सप्तरीस्थित विन्देश्वरी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा लिएर काम पनि अगाडी बढाइयो । तर विश्वविद्यालय स्थापना भएदेखि नै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ । कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको कृडास्थलको रुपमा परिणत हुँदै आईरहेको छ ।

अहिले राजर्षि जनक विश्वविद्यालयको क्याम्पस प्रशासनदेखि भिसिको कार्यालय, रजिष्ट्रारको कार्यालय र डिनको कार्यालयमा समेत तालावन्दी छ । क्याम्पसमा बीएससी सीएसआइटीमा अध्ययनरत विद्यार्थीहरुले तालावन्दी गरेका छन् भने भिसि, रजिष्ट्रार र डिनको कार्यालयमा पेपर कन्ट्रयाक्टका उपप्राध्यापकहरुले तालावन्दी गरेका हुन् ।

विद्यार्थीहरुले शैक्षिक भ्रमणसहित सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्युनिकेशनको सर्भर र प्रोग्रामिङका लागि क्याम्पससँग बजेट माग गरेका थिए । उनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएकोले क्याम्पसमा तालावन्दी गरेको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।

विद्यार्थीले समय–समयमा शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापका लागि विभिन्न किसिमका बन्द, आन्दोलन तथा तोडफोडका क्रियाकलाप गर्दै आइरहेकोले असहज परिस्थिति उत्पन्न भइ पठन पाठन नै बन्द गर्नु परेको कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्णले बताए ।

क्याम्पसमा पठनपाठन बन्द भएपछि अन्य संकायका विद्यार्थीहरुले पठन पाठन सूचारु गराउनु पर्ने माग गरेका छन् । विद्यार्थीहरुले एक पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कारण आफूहरुको पठनपाठन अवरुद्ध भईरहेको भन्दै सूचारु गराउनु पर्ने माग गरेका हुन् । यद्यपि कुनै निकायले चासो नदेखाएको एलएलबीमा अध्ययनरत छात्र चन्दन तिवारीले गुनासो गरे ।

एक संकायको विद्यार्थीहरुको आन्दोलनलाई लिएर पूरै क्याम्पसकै पठन पाठन अवरुद्ध गर्नु हुँदैन उनले भने ‘यसले हाम्रो भविश्य नै अँध्यारो हुने खतरा छ ।’ अगाडी भने ‘परिक्षा फारम भर्नका लागि सूचना समेत प्रकाशित भईसकेको छ, तर क्याम्पस प्रशासन बन्द छ कुन ठाउँमा फारम भर्न जाने ।’

क्याम्पसका साथ साथै भीसी को कार्यालय, रजिष्टारको कार्यालय, डीनको कार्यालय, सेवा आयोगको कार्यालयमा आफूहरुलाई करारमा नियुक्त गर्नु पर्ने माग गर्दै तालाबन्दी गर्नु परेको पेपर कन्ट्रैक्ट कोर्समा अध्यापन गराउँदै आएका दिलीप यादवले बताए ।

करारमा पछि नियुक्ति गर्ने गरी हामीलाई पेपर कन्ट्रैक्ट कोर्समा खटाउने भनिएको थियो यादवले भने ‘तर पछि करारमा नियुक्ति गर्न नमिल्ने भन्दै टार्दै आईरहेको छन् ।’ यादवले आरोप लगाउँदै अगाडी भने‘ भीसी सरले आफ्नो खास केही मान्छेलाई करारमा नियुक्ति गर्नका लागि गत वैशाख १३ गते सूचना निकाले ।’ सोही अनुरुप ५ जनाको नियुक्ति समेत भई सकेको उनको भनाई छ । त्यसपछि हामीलाई पनि करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आन्दोलित हुनु परेको यादवको भनाई छ ।

यता राजर्षि जनक विश्वविद्यालयका डीन शैलेन्द्र मल्लिकले विश्वविद्यालयलाई नै बदनाम गर्नका लागि यस प्रकारको कृयाकलाप गरिदै आईरहेको आरोप लगाए । उनले करारमा नियुक्ति गर्ने प्रकृया शुरु गर्ने तरखरमै रहेको बखत समेत तालावन्दी गर्नुुले आन्दोलित उपप्राध्यापकहरु समस्या समाधान तर्फ लाग्न नचाहेको आरोप लगाए ।

राजर्षि जनक विश्व विद्यालयमा एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आईरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।