प्रदेश २ मा मानव अधिकार उल्लंघनका ७५२ घटना

जनकपुरधाम, १६ पुस । प्रदेश नम्बर २ मा गैर राज्यपक्षबाट मानव अधिकार उल्लंघनको घटनामा बृद्धि भएको देखिएको छ ।
गैर राज्यपक्षबाट मानव अधिकार उल्लंघनको घटनामा व्यापक बृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) प्रदेश २ ले जनाएको हो ।
मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व शुक्रबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा ईन्सेकका प्रदेश २ संयोजक राजु पासवानले सन् २०२१ को जनवरी देखि २०२१ डिसेम्बर ३० सम्मको घटनाको तथ्यांक सार्वजनिक गरेका छन् ।
प्रदेश २ मा मानव अधिकार उल्लंघनका ७५२ वटा घटनाहरु भएको पासवानले जानकारी दिए । जसमा गैर राज्यपक्षबाट ५४१ महिला र १४८ पुरुष गरी ६८९ जना तथा राज्यपक्षबाट ५ महिला र ५८ पुरुष गरी ६३ जना पीडित भएका छन् ।
यस अवधिमा अपहरणका १८, राज्यपक्षबाट गरिफ्तारीका ४, कुटपिटका ५८, बाल अधिकार हननका २२५, अमानवीय व्यवहारका २३, गैर राज्यपक्षबाट २५ र राज्यपक्षबाट ३ गरी २८ जना घाइते भएका छन् ।
त्यस्तै, यस प्रदेशमा एक वर्षमा गैर राज्यपक्षबाट ३८ महिला र ४६ पुरुष गरी ८४ जना र राज्यपक्षबाट १ जना पुरुषको हत्याका गरिएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, जातीय भेदभावका ३, राज्यपक्षबाट भेला गर्ने अधिकार हननका ४०, धम्कीका ३, यातनाका १ र गैर राज्यपक्षबाट महिला अधिकार हननका २६४ वटा घटनाहरु भएका छन् ।
खास गरेर महिला तथा बालबालिका माथिको हिंसा बढेकोले यसप्रति सबैपक्ष संबेदनशील हुन जरुरी रहेको ईन्सेकका प्रदेश २ प्रमुख पासवानले बताए । उनले अघिल्लो बर्षको तुलनामा यसबर्ष यस्ता घटनाहरुमा बृद्धि भएको समेत जानकारी दिए । अघिल्लो बर्ष ७१८ वटा मानव अधिकार उल्लंघनका घटनाहरु घटेका थिए ।
प्रदेश २ मा बाल अधिकार हननका २२५ घटनाहरुमध्ये बाल श्रमका २, बालविवाहका १२, बाल बेचबिखनका ८, नवजात शिशुको हत्या १, बलात्कारका १५१ र यौन दुव्र्यवहारका ५१ वटा घटनाहरु घटेका छन् भने महिला अधिकार हननका २६४ घटनाहरुमध्ये घरेलु हिंसाका २४, शिल्पसँग अभ्यासका लागि १०, बहुविवाहका ४८, बलात्कारका ११०, बलात्कार प्रयासका ४३, यौन दुव्र्यवहारका १३ र महिला बेचबिखनका १६ वटा घटनाहरु घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस प्रदेशमा धनुषा जिल्लामा मात्र ११५ वटा मानव अधिकार उल्लंघको घटना भएको ईन्सेकका धनुषा प्रतिनिधि दिपेन्द्र सिंहले जानकारी दिए । उनले धनुषामा राज्यपक्षबाट १ जनाको पनि यस अवधिमा हत्या नगरिएको अभिलेखिकरण भएको तथ्यांक सार्वजनिक गरे ।
सन २०२१ मा सबैभन्दा बढी जबरजस्ती करणीको घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख छ । एक वर्षमा करणीको ३५ वटा घटना अभिलेख भएकोमा २२ जना बालिका रहेका छन् । यस एक वर्षको अवधिमा १३ जना महिला बलात्कृत भएको तथ्यांक छ । त्यस्तै बलात्कार प्रयास तथा यौनदुव्र्यवहारको ९ वटा घटना घटेको उल्लेख छ ।
बोक्सी आरोपको एउटा घटना घटेको छ भने जातिय छुवाछुतको १, गैर राज्यपक्षबाट हत्या १४, पारिवारिक हत्या ६, हत्या प्रयास १, हिरासतमा मृत्यु १, मोसो/दुव्र्यवहार ४, गैर राज्यपक्षबाट कुटपिट १४, राज्य पक्षबाट कुटपिट २, बहुविवाह १६, मानवबेचविखन ४, शारीरिक दण्ड विद्यालयमा १, आगजनी १, घरेलु हिंसा २, अप्राकृतिक मैथुन १ र साम्प्रदायिक झडपको एउटा घटना घटेको अभिलेख छ । इन्सेकका अनुसार यस वर्ष धनुषामा पारिवारिक हत्याको घटनामा बृद्धि भएको पाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


