सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग गर्दै विभागमा उजुरी

काठमाडौं, १६ पुस । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बेञ्च बार समन्वय समितिलगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।
अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएको छ ।
अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च बार समन्वय समितिमा रहने न्यायाधीशलगायत पूर्वन्यायाधीश, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए । उनीहरूले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबिनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए ।
अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशको निधन भइसकेको अवस्था देखिएमा उनका परिवारका सदस्यउपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


