जनकपुर–१८ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दुरावस्था, ल्याब छैन तर कर्मचारी भने एक बर्षदेखि तलब खाँदै

जनकपुरधाम, १६ पुस । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१८ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका कार्यालय प्रमुख दोहोरो भूमिकामा काम गरिरहेको पाइएको छ ।
२०७६ सालमा स्थापना भएको सो केन्द्रका कार्यालय प्रमुख डाक्टर रामकृष्ण साह एकै समयमा दोहोरो भूमिकामा काम गरिरहेको पाइएको हो ।
कार्यालय प्रमुख डाक्टर साह कार्यालय समयमा आफ्नो निजी क्लिनिक सञ्चालन गरेर बसेका छन् । कार्यालय समयमा कार्यालय नै नगई उनी निरन्तर आफ्नो क्लिनिकमा बस्दै आईरहेका छन् ।
नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोगहरु, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण प्रवद्र्धन, जेष्ठ नागरिकको स्वास्थ्य समस्याका लागि स्वास्थ्य, वहिरंग सेवा, महामारी नियन्त्रण तथा विपद व्यवस्थापनलगायतका सेवाहरु सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले २०७६ सालमा सो केन्द्र स्थापना गरेको थियो ।
केन्द्र स्थापना भएको दुई बषै बित्नलाग्दा समेत त्यहाँको अवस्था भने बझिनसक्नु छ । कार्यालय समयमा कार्यालय प्रमुख लगायतका कर्मचारीहरु त्यहाँ भेटदैनन् । कर्मचारी भेटेपनि उनीहरु कामविहीन अवस्थामा रहेको पाइएको छ । हामी त्यहाँ पुग्दा अवस्था भने दयनीय देखिएको थियो ।
कर्मचारीहरु त थिए तर सबै कामविहीन अवस्थामा, कार्यालय प्रमुख भने एक हप्तादेखि कार्यालय नै नआएको कार्यालय सहयोगी शान्तीदेवी झाले बताईन् । उनले डाक्टर साहेब ८/१० दिनमा एकपटक कार्यालय आएर हाजिरी बनाई पुनः आफ्नो व्यक्तिगत काममा फर्किेने गरेको बताइन् । कर्मचारीहरु काम नपाएर मोबाइल चलाएर बस्ने गरेको उनको भनाई थियो ।
बिरामीहरु पनि कहिलेकाँही मात्र आउने गरेको र रजिष्टरमा भने थप गरेर आफ्नै मनले कर्मचारी र कार्यालय प्रमुखको मिलेमतोमा बिरामीको नाम उल्लेख गर्ने गरेको उनले बताइन् ।
यता, कर्मचारीहरु पनि आफूहरुले काम नपाएर त्यतिकै बस्ने गरेको बताएका छन् । ल्याबको सामग्री उपलब्ध नभएपनि कर्मचारी भने विगत एक बर्षदेखि तलब खाईरहेका छन् । चौथो तह ल्याब असिस्टेन्ट पदमा कार्यरत कर्मचारी अमरेन्द्र साहले यहाँ ल्याबका लागि अटो क्लेभ मात्रै उपलब्ध रहेको र अन्य उपकरणको भने अभाव रहेकोले आफू कामविहीन बनेको स्वीकार गरेका छन् । आफू काम नपाएर बिच बिचमा उपमहानगरको कार्यालयले खटाए अनुरुप कोभिडको स्याम्पलहरु क्लेक्शन गर्ने गरेको उनले बताए । कर्मचारीहरुले पनि काम नपाएर वाइफाइ उपलब्ध रहेकोले मोबाइल चलाउँदै दिन काटिरहेको बताएका छन् ।
कार्यालयको बेथितीबारे थप पत्ता लगाउने उद्येश्यले हामी कार्यालय प्रमुख डा.रामकृष्ण साहलाई खोज्दै प्रादेशिक अस्पतालको साम्मुनेमा रहेको उनको क्लिनीकमा पुग्यौं । क्लिनीकमा जाँदा औषधि पसल सञ्चालकले डाक्टर साहेब अहिले यहाँ नरहेको र केही बेरमा उनी आउने प्रतिक्रिया दिए । हामीले उनी कतिबेला यहाँ बस्छन् भनेर सोध्दा उनले डाक्टर साहेब बिहान साढे ९ देखि साढे १० बजेसम्म र दिउँसो साढे १ देखि ५ बजेसम्म क्लिनीकमा निरन्तर समय दिइरहेको बताए ।
यस सम्बन्धमा बुझ्नका लागि हामीले डाक्टर साहलाई फोन गर्यौं । उनलाई हामीसँग भेट गर्न आग्रह गर्दा उनी तयार भए । त्यसपछि हामी उनी भएको ठाउँमा पुग्यौं । उनीसँग शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दुरावस्था र उनको कार्यशैलीमाथि प्रश्न गर्दा आफू स्वास्थ्य क्षेत्रको कर्मचारी रहेकोले आफ्नो ड्युटी बिहान १० देखि दिउँसो २ बजेसम्म मात्र रहने जिकिर गरे । २ बजेपछि आफू निजी क्लिनीकमा बस्न मिल्ने उनको दावी थियो ।
डाक्टर साहले उपमहानगरपालिकालाई कार्यालयको दुरावस्थाबारे जानकारी दिंदा आश्वासन मात्र पाउने गरेको भन्दै आफ्नो बचाउ समेत गर्न भ्याए । उनले प्रवर्द्धन केन्द्रलाई भौतिक संरचनासँगै सामग्री, तालिम पनि आवश्यक रहेको बताए । महामारी नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तालिम नहुँदा समस्या भइरहेको बताउँदै सबै दोष उपमहानगरमाथि नै थुपारेर आफू बच्ने प्रयास गरे । साहले केन्द्रमा परामर्श कक्ष, किशोर किशोरमैत्री कक्ष लगायतको अभाव रहेको बताए ।
‘कुनै पनि विरामीलाई परामर्श दिन एउटा अलगै कक्षको आवश्यक हुन्छ तर, त्यो यहाँ छैन’ उनले भने । उनले केन्द्रले विद्युत समस्या, फ्रिज अभाव तथा समयमै औषधीका लागि रकम नआउनु लगायतको समस्या भोग्दै आएको बताए ।
उनले भने ‘शहरी क्षेत्रमा रोगको बढ्दो प्रकोप, स्वास्थ्यको जोखिम र दु्रत गतिमा बढ्दै गरेको जनसंख्याको आवश्यकतालाई आधार मानेर वृहत शहरी स्वास्थ्य कार्यक्रम सञ्चालन हुन सकेको छैन । यसको असर खासगरी शहरमा वसोवास गर्ने गरीब, महिला तथा बालबालिका र सिमान्तकृत समूहमा परेको देखिन्छ जुन वर्ग स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको अवस्था छ ।’
कार्यालयमा प्रमुखको रुपमा डाक्टर रामकृष्ण साह, एचएद्वय दिलिप साह र बीरेन्द्र साह, ल्याब असिस्टेन्ट अमरेन्द्र साह, नर्सहरु रञ्जना साह, मिनु ठाकुर र रञ्जना यादव, कम्प्यूटर अपरेटर मेहरुम खातुन र कार्यालय सहयोगी शान्तीदेवी झालगायत ९ जना कर्मचारी कार्यरत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


