काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

महाधिवेशनमा स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि पनि छलफल सकिएको छ । बिहीबार छलफलमा भएका निष्कर्ष राख्ने क्रम पनि सकिएको छ ।

यसअघि यी दुई प्रस्तावमाथि छलफल गर्न २४ वटा विभिन्न समूहहरु निर्माण भएका थिए । बुधबार दिउँसोबाट निष्कर्षहरु सुनाउने क्रम सुरु भएको थियो ।

प्रचण्डले बन्दसत्रमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा आफ्नो दस्तावेज प्रस्तुत गरेका थिए ।

२५ वटा समूहको छलफलबाट यो दस्तावेजमा र गुरुङको प्रस्तावमा समर्थन आएको माओवादी केन्द्रको प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ ।

माओवादी केन्द्रको बन्दसत्र शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार आफ्नो दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दाहालले दिनेछन् ।

त्यसपछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया अगाडि बढ्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।