काभ्रे, १५ पुस । जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै पुस २१ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले कोरोनाका कारण ढिला विद्यालय सञ्चालन भएकाले जाडो विदा नदिने निर्णय गरेपनि हिजोदेखि अत्यधिक चिसो बढेपछि एक हप्ता विदा निर्णय गरेको बताए ।

कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहे पनि विद्यालय खुलेपछि परीक्षालाई निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन नगरपालिकाले सबै विद्यालयलाई अनुरोध गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।