मिथिला चित्रकलालाई हुलाक टिकटका रूपमा जारी गरियो

काठमाडौं, १५ पुस । दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक टिकटका रूपमा जारी गरेको छ ।
मिथिला चित्रकला भएको विभिन्न १७ र अन्य १४ वटा हुलाक टिकट सार्वजनिक गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले टिकटहरू सार्वजनिक गरेका हुन् ।
दिगो विकासका लक्ष्यहरूलाई स्थानीयस्तरमा पनि बुझाउन स्वदेशी कलाको प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आवासीय संयोजक कार्यालयले १७ वटा दिगो विकास लक्ष्यका प्रतीक चिन्ह्लाई स्थानीय कलाको स्वरूपमा बनाउने काम थालेको थियो ।
यसैअन्तर्गत २०७१ सालमा नेपालस्थित संयुक्त राष्ट्रसंघ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यपछि जनकपुरका स्थानीय महिला कलाकारहरूले चित्रहरू बनाएका हुन । यिनै चित्रलाई हुलाक टिकटमा समेटिएको हो ।
हुलाक टिकटमा समावेश मिथिला चित्रकलाहरूलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले सन् २०१९ मा आयोजना गरेको ‘एसडीजीहरूका लागि कला : मिथिला सम्पदा’ शीर्षकको प्रदर्शनीमा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित मिथिला महोत्सवमा पनि सहभागी गराइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


