जनकपुरधाम, १५ पुस । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा. राउतले बुधवार अबेर राति जारी गरेको विज्ञप्तीमा पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने उल्लेख छ ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको जनमत पार्टीले जनाएको छ ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाए ।

यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको जनमत पार्टीको ठहर छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टीले आन्दोलन सुरु गरेको थियो ।