जनकपुरधाम उपमहानगरपालिकासहित प्रदेश २ का २० स्थानीय तहले बजेट पेश गरेनन्

जनकपुरधाम, १४ पुस । धनुषाका ५ सहित प्रदेश २ का २० वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट हालसम्म पेश गरेको छैन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये वागमतीका एक र प्रदेश २ का २० गरी कुल २१ वटा स्थानीय तहले बजेट पेश नगरेको जनाएको छ ।
प्रदेश २ मा १३६ स्थानीय तहमध्ये ११६ स्थानीय तहले मात्र बजेट पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा बजेट पेश नगर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् । त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिकाले समेत बजेट पेश गर्न सकेको छैन् भने सर्लाहीको कौडेना गाउँपालिका र पर्सा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छैन् ।
उता, सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका र रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका तथा बाराको सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पर्साको पोखरिया नगरपालिका र धोबीनी गाउँपालिकालेसमेत हालसम्म बजेट पेश नगरेको जनाइएको छ । जनप्रतिनिधिबिचको आपसी विवादका कारण स्थानीय तहहरुले बजेट पेश गर्न नसकेको बताइएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट समेत पेश गर्न सकेको छैन् ।
प्रदेश नम्बर १ का १३७, बागमती प्रदेशका ११८, गण्डकी प्रदेशका ८५, लुम्बिनी प्रदेशका १०९, कर्णली प्रदेशका ७९ र सुदूरपश्चिम प्रदेशका ८८ लगायत देशभरका ७३२ स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


